काठमाण्डौ, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया एकै दिनमा टुङ्गो लगाइने भएको छ । प्रतिनिधिसभाको हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मत लिने क्रममा सबै प्रक्रिया आजै टुंग्याउने सहमति भएको हो ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सीआईएनसँग बताए अनुसारकोभिड सङ्क्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था मिलाइएको छ । यसको व्यवस्थापन सरकार र संसद् सचिवालयको समन्वयमा गरिने उहाँको भनाई छ । हाल २ सय ५ जना सांसदले मात्र पीसीआर परीक्षण गराएका छन् । सांसदहरूलाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।
परीक्षण गर्न बाँकी कतिपय सांसद सङ्क्रमित भएर आइसोलेसनमा बसेको सचिवालयले जानकारी गराएको छ । कम्तीमा ३० जना सांसद सङ्क्रमित भइसकेका छन् ।