दान बहादुर गुरुङ, चितवन, २६ बैशाख । गोरखा र चितवन जोड्ने निर्माणाधीन मोटरेवल पुलको काम निषेधाज्ञामा पनि भइरहेको छ । हाल पुलको काम ९० प्रतिशत सम्पन्न भएको सडक विभागका इन्जिनियर नविन अधिकारीले बताउँनुभयो ।
गोरखाको गण्डकी गाउँपालिका वडा न ६ पल्लोटार र चितवनको इच्छाकामना ३ फिस्लिङ जोड्ने उक्त पुलको २०७३ चैतबाट निर्माण कार्य सुरु भएको हो । यस पुलको २०७७ फागुनमा म्याद सकिए पछि पुन : २०७८ असार मसान्त सम्म थप गरेको थियो । कोरोना भाइरसको महामारीसँगै काम रोकिएपछि म्याद थप गरिएको हो ।
कोरोनाको महामारीसँगै निषेधाज्ञा घोषणा भएपछि बाहिरी जिल्लाका कामदारहरु आउन नसक्दा निर्माण कार्यमा ढिलाई भएको इन्जिनियर अधिकारी बताउँनुहुन्छ ।
उहाँले भन्नुभयो,“निषेधाज्ञाजारी भएसँगै घर गएका कामदारहरु फर्कन पाएका छैनन्, चाडैँ ल्याउने प्रयत्न भइरहेको छ, यहाँ आएर पनि क्वारेन्टिनमा केही दिन बस्नुपर्ने छ, असार भित्र नै सम्पन्न हुने गरि काम भइरहेको छ ।”
उहाँले अबको १५/२० दिन भित्र डेस्क स्ल्यावको काम सुरु हुने बताउँनुभयो । गत बैशाख ४ गतेको हावाहुरीले करिव ३ मिटर सारिएको स्टिल ट्रयाक भने हाइड्रोलिक ज्याकको सहायताले पहिलेकै अवस्थामा सिधा पारिने पनि उहाँले बताउनुभयो । झण्डै १५ करोडको लगानीमा बन्ने उक्त पुलको निर्माण कार्य सपना कन्स्ट्रक्सनले गरिरहेको छ ।
यस पुल निर्माण सम्पन्न भए सँगै धादिङको बेनीघाटबाट चार पाङ्ग्रे सवारी साधन आवत जावत गर्नुपर्ने समस्याबाट स्थानीयहरु मुक्त हुने छन् । यस पुलबाट गण्डकी गाउँपालिकाको कार्यालय भूम्लिचोक ४५ मिनेटमा पुग्न सकिन्छ भने धादिङको बेनिघाट हुदैँ जाँदा लगभग एक घण्टा ३० मिनेट लाग्ने गर्दछ ।