काठमाण्डौ, २५ बैशाख । गत वर्षको बाढी पहिरोबाट प्रभावितहरुको निजी आवास पुनर्निर्माणका लागि जिल्लामा रकम पठाउन ढिलाइ हुने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिले लाभग्राहीहरुको अन्तिम नामावली पठाउन नसकेका कारण रकम पठाउन ढिला हुने भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
२ हजार ८ सय २१ निजी आवास पुनर्निर्माणको प्रारम्भिक विवरण प्राप्त भएपनि जिल्लाबाट लाभग्राहीको अन्तिम नामावलीसहित माग भएपछि मात्रै रकम निकासा हुने प्रवक्ता लीलाधर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो । सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दीसहित २२ जिल्ला प्रभावित भए पनि म्याग्दीको २ सय ४७ निजी आवास पुननिर्माणका लागि मात्रै पहिलो किस्ता पठाइएको उहाँको भनाइ छ ।
सरकारले गएको जेठ ३० यताका मनसुनजन्य विपद प्रभावितको निजी आवास निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।