काठमाण्डौ, २३ बैशाख । सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि तोकिएको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने भएको छ । केही निजी अस्पतालहरुले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै मनपरी शुल्क लिन थालेको गुनासो आएपछि मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार महामारीको यस विषम परिस्थितिमा केही निजी अस्पतालहरुले अनावश्यक शुल्क लिने, सेवाग्राहीलाई दुः ख दिने जस्ता गतिविधि गर्ने गरेको गुनासो आएकाले त्यसो नगर्न भनिएको छ ।
डा. अधिकारीले कसैले बिरामीलाई कोरोनाको उपचारका नाममा अनावश्यक गैर कानूनी रुपमा शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालय वा नजिकैको प्रहरीमा खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले यदि सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने काम रोकिएन भने कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।