लक्ष्मण विश्वकर्मा, दाङ, १९ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाईडहर नजिकै स्याउली बजारस्थित रोकी राखेको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकहरूको सनाखत भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भीम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार रहेका छन् ।
लामो समयदेखि पार्किङ गरि राखेको आरजे ०१ सिसि ०८८५ नम्वरको भारतीय गाडीभित्र उनीहरू हिजो साँझ मृत भेटिएका थिए । यही बैशाख १६ गतेदेखि घरबाट हराईरहेका ती बालकहरु मृत भेटिएको डिएसपी सिंहले जानकारी दिनुभयो । ती बालक सम्पर्कविहीन भएपछि अभिभावकहरूले प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान गर्न नेपालगन्जबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली बोलाईएको उहाँले जानकारी दिनुभयो । मृतक बालकहरुको शवलाई पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।