आँबुखैरेनी, १७ बैशाख । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमकै बिच तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयहरुमा वार्षिक परीक्षा संचालन हुने भएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै यहि बैशाख २१ गते देखि वार्षिक परीक्षा संचालन गर्न तयारी थाल्न विद्यालयहरुलाई निर्देशन दिएको हो।
गाउँपालिकाले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको तयारी थालेका हुन् । गाउँपालिकाले वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । साथै अन्य कक्षाहरुको वार्षिक परीक्षा पनि विद्यालय आफैले वैशाख २१ गतेबाट सञ्चालन गर्न आग्रह गरिएको छ ।
कक्षा ८ को प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ । यसैबिच तनहुँ कै बन्दीपुर गाउँपालिकाले पनि वैशाख १९ गतेबाट आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । वैशाख १५ गते बसेको गाउँपालिकाको बसेको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताउनुभयो ।