ताप्लेजुङ, १० बैशाख
ताप्लेजुङमा छिमेकीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।
जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा बिहीबार साँझ आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको ज्यान गएको हो। ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन ।