काठमाण्डौ, ८ बैशाख । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।
आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छन् ।
यता, मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ । मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ । दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ ।
नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिनेछ । नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछ ।