काठमाण्डौ, १ वैशाख । तराई मधेशमा आज सातु खाएर नयाँ वर्ष मनाइँदैछ । नयाँवर्ष सुरु भएकै दिनअर्थात् वैशाख १ गतेका दिन तराई मधेशमा सातु खाने प्रचलन छ । तराई मधेशमा आजको दिन चना र जौको सातु गुड, चिनी वा नुनसँग मिसाएर खाने परम्परा सदियौं देखि चलि आएको छ ।
गर्मीयाम सुरु हुन लाग्दा खाने सातुको आफ्नै महत्व छ । सातुको नियमित सेवनले अनेक स्वास्थ्य फाइदा हुने गर्छ । गर्मी लागेसँगै खाइने सातुले स्वास्थ्यमा विभिन्न फाइदा हुने भएकाले आजको दिन सातु खाने गरिएको संस्कृति विज्ञ डा. राजेन्द्र विमलको भनाइ छ ।
सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको दृष्टिकोणले पनि सातुको सेवनलाई निकै लाभदायक मानिने गरेको उहाँले बताउनुभयो । सातुमा प्रोटिनको मात्रा अत्याधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्ने हुँदा पनि सातु खानु उत्तम मानिन्छ ।