देवचन्द्र भट्ट, नुवाकोट, २८ चैत । गोसाइकुण्ड जाने पैदल मार्गमा रहेका होटेलहरुका लागि मुल्यदर कायम गरिएको छ । धार्मिक यात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा एकरुपता गर्न नयाँ मूल्यदर कायम गरिएको हो ।
गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग व्यापारीहरुले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम गरिएको हो ।
तीर्थालुहरुलाई खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उपरान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक ५ सय ५० तथा वास वसेको प्रतिबेड १ हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको निकुन्ज कार्यालयले जनाएको छ ।
गोसाइँकुण्ड जाने मार्गमा रहेको लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५ सय र वास वसेको ९ सय रुपैयाँ तथा चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४ सय ५० एवं वास बसेको ८ सय रुपैयाँ मुल्यदर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको भनाइ छ ।
उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटेल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको उहाँले बताउनुभयो ।