काठमाण्डौ, २४ चैत । आज जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइने गरिन्छ । २०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा काँग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए ।
यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । २०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो । जनआन्दोलनको भावना र मर्म बिर्संदै गएको आरोप खेप्ने राजनीतिक दलहरुले चैत २४ मा औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् ।
यद्यपि प्रमुख राजनीतिक दलहरुले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ मा नै गरेका थिए । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।