चितवन, २१ चैत्र ।
गैँडा गणनामा खटिएको टोलीलाई जङ्गली हात्तीले लखेट्दा हात्तीबाट खसेर पाँच जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली ध्रुबे हात्तीले लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उहाँले बताउनुभयो । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।
हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।
धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख उहाँले बताउनुभयो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।