मनकामना, १९ चैत्र ।
मनकामना दर्शन प्रालिद्धारा करिब साढे दुई दशकदेखि चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति हुने भएको छ।
पहिलो चरणमा तत्काल अतिआवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरू फेरिनेछन्। दोस्रो चरणमा केबुलकारलाई नयाँ प्रविधिमैत्री बनाउन पूर्र्वाधार तयार तथा केही थप पार्टपुर्जाहरू फेरिने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी तेस्रो चरणको स्तरोन्नतिमा हालको ‘एनालग सिस्टम’ लाई ‘डिजिटल सिस्टम’ रूपान्तरण गर्ने, मुख्य केबुल लठ्ठा फेरबदल गर्ने, ‘कम्युनिकेट केबुल’ लाई ‘सेट्रा केबुल’ रूपान्तरण गर्ने, ‘डिसी ड्राइभ’ लाई ‘एसी ड्राइभ’ मा रूपान्तरण गरी ताजा प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।
‘तीन चरणमा गरिने स्तरोन्नतिका कामबाट यात्रुलाई सकेसम्म सहज आवागमन गराउने व्यवस्था मिलाएका छौं। स्तरोन्नतिका काम हुँदा सेवा अवरुद्ध पनि हुने गर्छ,’ कार्यकारी सञ्चालक श्रेष्ठले भने, ‘आगामी दुई वर्षभित्र स्तरोन्नतिका सबै काम पूरा गर्ने लक्ष्य छ।’
२०५५ मंसिर ८ बाट सुरु भएको मनकामना केबुलकार सञ्चालनमा मर्मतसम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई उक्त प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जान लागिएको कम्पनीले जनाएको छ।