चितवन, १९ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने बताएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको अनुमान छ। बाँकी भू– भूभागको मौसम भने सफा रहनेछ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।