विनोद शर्मा, काठमाडौं, १९ चैत । लैंगिक विभेद, असमानता, लैंगिक हिंसा पुरुषमा भन्दा महिला र बालिकामा बढी छ । त्यसै कारण लैङ्गिक हिंसा महिलाको विषय मात्रै हो भन्ने बुझाई समाजभित्र गलत तरिकारले स्थापित भएको छ ।
त्यही बुझाई चिर्न पछिल्लो समय युवा पुस्ता पनि लैंगिक हिंसा तथा विभेद विरुद्धको अभियानमा छन् । धरानका आविश्कार पाण्डेलाई केही समय अगाडी लाग्थ्यो यो महिलाको विषय हो । तर, बुझदै जादा थाहा भयो लैङ्गिक हिंसा सिंगो समाज अझ सबैभन्दा बढी पुरुषको विषय हो ।
अहिले उहाँ महिला हिंसा विरुद्ध र बलात्कार अन्त्यको अभियानमा सक्रिय हुनुहुन्छ । पोखराका रचना तिवारी हिंसा देखेर पनि नबोल्ने व्यक्ति पनि अपराधी हो भनेर बोलौ भन्ने अभियानमा हुनुहुन्छ । लैङ्गिक हिंसा अन्त्य नभएसम्म देश विकास हुन नसक्ने युवाहरुको साझा बुझाइ छ ।
त्यो बुझाईलाई फैलाउन काठमाडौंका केञ्जु सिटौला लागि पर्नु भएको छ । आविश्कार पाण्डे, रचना तिवारी, केञ्जु सिटौलाजस्ता युवाहरु अहिले लैङ्गिक हिंसा विरुद्ध बोलौ भन्ने अभियानमा छन । देख्ने, सहनले हिंसा विरुद्ध बोल्न सकेमात्रै पनि हिंसा आधा घटने उनीहरुको तर्क र बुझाई छ । आर्थिक वर्ष २०७६/०७७ मा देशभर जवर्जस्ती करणीका २ हजार एक सय ४४ घटना दर्ता भएका थिए ।
यस आर्थिक वर्षको ६ महिनामा मात्रै एक हजार २ सय ६० घटना दर्ता भइसकेका छन् ।कानुनले हिंसालाई अपराध मानेकाले त्यसको कार्यान्वयन र त्यसका विषय जानकारी गराउनुपर्ने अधिवक्ता निर्मला भण्डारीको भनाइ छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ११ हजार ७ सय ३८ घरेलु हिंसाका घटना दर्ता भए ।
यस आर्थिक वर्षको पहिलो ६ महिनामा घरेलु हिंसाका ६ हजार ६ सय ४६ घटना दर्ता भएका छन् । हिंसा न्यूनीरकरणका लागि आवाज उठेसँगै घटना बाहिर धेरै आएपनि अन्त्य गर्न पनि सहयोग हुने प्रहरीको विश्वास छ ।