काठमाण्डौ, १८ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि तय भएको आजको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची मात्रै रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।
काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।यस्तै आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ भने सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।