आँबुखैरेनी, १७ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकामा भोली देखि वडा वडामा भूमिहिनको लगत संकलन कार्य सुरु गरिने भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले आँबुखैरेनी गाउँपालिकासँग भूमिहिनको लगत सङ्कलनका लागि सम्झौता गरेसँगै भोलीदेखि नै वडा वडामा भूमिहिनको लगत संकलन कार्य सुरु गरिने भएको हो।
यसका लागि गाउँपालिकाले तयारी सुरु गरिसकेको छ भने गाउँपालिकाको आयोजनामा मङ्गलबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

गाउँपालिकाले आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलको अध्यक्षतामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले सहभागीलाई सहजीकरण गर्नुभएको थियो । सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले वास्तविक भूमिहिनलाई जग्गा दिलाउने आयोगको लक्ष्य रहेकाले सोही बमोजिम लगत सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयोगका विज्ञ सदस्य दीर्घबहादुर दरै, सदस्य शान्ति कुवंर, गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता थियो । लगत सङ्कलनकर्तालाई तालिम दिएर वडामा खटाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा वडामा ८ जना लगत सङ्कलनकर्ता परिचालन गरिनेछ ।