काठमाण्डौ, १४ चैत । लैङ्गिक हिंसामा परेका महिलाहरूमध्ये ३५ प्रतिशतमा गम्भीर प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको एक अध्ययनले देखाएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर, काठमाडौँ लगायत ५ जिल्लाका हिंसामा परेका महिलाहरूमाझ गरेको अध्ययनले ८८ प्रतिशतले कुनै न कुनै प्रकारको डिप्रेसन अर्थात उदासिनताको समस्या व्यक्त गरेको उल्लेख गरेको छ ।
सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद् डा पशुपति महतले समस्यामा रहेका हिंसा प्रभावित महिलाका लागि तीनै तहका सरकारले उपचार तथा मनोविमर्शको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
५ जिल्लाबाट बिभिन्न ९ वटा आश्रयस्थल, प्रहरीको संरक्षणमा रहेका ३ सय जना हिंसा प्रभावित महिलाहरूको अनुभवका आधारमा अध्ययन गरिएको थियो । हिंसामा पर्नेमा जनजाति समुदायका महिला धेरै रहेको र उनीहरू नै बढी मानसिक स्वास्थ्य समस्यामा रहेको पाइएको अध्ययनले देखिाएको छ ।