Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप,होटल भरिभराउ

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप,होटल भरिभराउ

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप,होटल भरिभराउ
images

दमौली (तनहुँ) तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् ।

पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ । होटल तथा घरबासमा पर्यटक भरिभराउ हुँदा व्यवस्थापन गर्न पनि कठिन भएको उनले बताए। उनका अनुसार बन्दीपुरमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकको आगमन बढेको छ । चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम पनि सुरु भएकाले पर्यटकको चाप अत्यधिक बढेको हो । बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

बन्दीपुरमा रहेका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता रहेको छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् । तर, पानीको समस्याका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसक्ने अवस्था रहेको अध्यक्ष बानियाँले बताए । पानीको उपलब्धताले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको उनको भनाइ छ ।

पर्यटकको चाप बढे पनि बासको व्यवस्थापन गर्न नसक्दा केही पर्यटक बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था आउनु पर्यटन व्यवसायका लागि चुनौती बनेको छ । बन्दीपुरमा उपलब्ध होटल तथा होमस्टेको क्षमता र पूर्वाधारलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटक ओइरिएको बताए। बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । पर्यटकको चाप बढ्दा होटल व्यवसायमा उत्साह थपिएको भए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए।

बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका कारण यो ठाउँ पर्यटकको रोजाइमा पर्दै आएको छ । विशेषगरी बिदाको समयमा परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । विदेशी पर्यटक पनि बन्दीपुरको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन पुग्ने गरेका छन् । पर्यटकको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - ११:१४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology