बाजुरा। पछिल्लो समय बाजुराका किसान प्रविधिमैत्री बन्दै गएका छन् । यहाँका किसानले अहिले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका हुन् । नौं वटै स्थानीय तहका अधिकांश कृषकहरुले हातेट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् ।
किसानहरुले प्रायः गोरु पाल्न छाडेपछि ट्याक्टरको माग बढेको हो । उनले भने,‘ट्याक्टरको सहायताले आफ्नोसहित अरुको खेत जोत्ने गरेको छु । खेत जोते वापत प्रतिमिनेटको १६ रुपैयाँ लिने गर्छु । ट्याक्टरले आम्दानीसँगै प्रविधिमैत्री बनाएको छ ।’ हाते ट्याक्टरको सहायताले खेत जोत्न निकै सहज हुने हुँदा पछिल्लो समय बाजुराका कृषकहरु प्रविधितर्फ आकर्षित हुन थालेको युवा कृषक हेमन्त तिमिल्सेनाको भनाइ छ ।
उनले दुर्गम पहाडी जिल्लाहरुमा समेत हाते ट्याक्टरको माग बढ्दै गएको बताउँदै अहिलेको युगमा प्रविधिसँग जोडिन आवश्यक रहेको कुरामा जोड दिए ।
केही वर्ष अघिसम्म यहाँका किसानले खेतबारी जोत्न एक घरमा एक गोरु अनिवार्य पाल्दै आएकोमा अहिले अधिकांश कृषकले गोरु पाल्न छोडेपछि पहाडी जिल्लाहरुमा समेत यसको माग बढेको हो।गोरुले जोत्ने खेतबारीमा अहिले यहाँका कुना कन्दरामा हाते ट्याक्टर पुगेका छन् । तर पेट्रोलियम पदार्थ मूल्य वृद्धिले ट्याक्टर सञ्चालनमा भने थप समस्या हुँदै आएको देखिन्छ ।
कृषि क्षेत्रमा काम गर्ने कृषकहरुलाई बाजुराका स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले अनुदानमा सामाग्री उपलब्ध गराउन थालेपछि किसानका घरमा हाते ट्याक्टर पुगेका छन् । जसका कारण गोरु पाल्ने चलन भने क्रमिक रुपमा हराउँदै गएको छ ।
खेतीपातीमा नयाँ बहार
कृषिमा यान्त्रिकीकरणको लहरझैँ पछिल्लो समय हाते ट्याक्टर निकै चलनचल्तीमा आएको छ । खेतीपातीमा नयाँ बहार स्वरुप ट्याक्टरलाई लोकप्रिय मानिदैँ गएको छ । सरल, छिटोछरितो र समयको बचतको लागि यस प्रविधिले खेतजोत्दा खेतको बनावट, माटोको अवस्था, मेसिनको क्षमता, इन्धन खर्च र मर्मतसम्भारमा ध्यान दिन भने आवश्यक देखिन्छ ।
किसानलाई उपयुक्त तालिम, सहुलियतपूर्ण ऋण र कृषि उपकरणमा पहुँच उपलब्ध गराउन सके यसको प्रयोग अझै प्रभावकारी बन्ने देखिन्छ । यस प्रविधिलाई खेतिपातीमा नयाँ आशाको किरण मानिदैँ आएको छ।कृषिलाई व्यवसायिक,आधुनिक र उत्पादनमुखी बनाउने अभियानमा हाते ट्याक्टरको भूमिका निकै महत्त्वपूर्ण हुने स्थानीयको भनाइ छ ।