Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

images

इच्छाकामना न्युज

१३, कार्तिक २०८३
‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक
images

काठमाडौं । सफलताका साथ प्रदर्शन भइरहेको सिनेमा ‘कबड्डी ५’ को अर्को गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ । निर्माण टिमले बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

‘कबड्डी’ शृङ्खलाaका मुख्य पात्र काजी (दयाहाङ राई) को ‘कबड्डी ५’ सम्मको यात्राबाट प्रेरित यस गीतमा उनको चरित्रका भावनात्मक उतारचढाव, अन्तर्विरोध र मानवीय संवेदनालाई समेटिएको छ । बाहिरबाट जिद्दी र अप्रत्याशित स्वभावका देखिने काजीको भित्री मनमा लुकेका भावना र संवेदनालाई गीतले उजागर गरेको छ ।

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको यो गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ । गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।

अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् भने बिजु कर्माचार्यले रेकर्ड प्रोड्युसरका रूपमा काम गरेका छन् । गीतको अडियो मिक्सिङ रिकेश गुरुङले गरेका हुन् ।

यसअघि सिनेमाको प्रमोसनल गीतको रुपमा सार्वजनिक गरिएको ‘थाक खोला’ दर्शकमाझ चर्चित बनेको छ । यो गीत पनि संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वरमा बनेको हो ।

लोक/आधुनिक शैलीको यो गीतमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई) र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र सिर्जना गुरुङबीचको रमाइलो नोकझोक र प्रेमको अल्झिएको सम्बन्धलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

थकाली परिवेश र मौलिक नेपाली स्वाद बोकेको यस गीतले सिनेमा प्रदर्शन हुनुअघि नै दर्शकमाझ ठूलो हाइप सिर्जना गर्न सफल भएको थियो ।

संगीत जस्तै सिनेमाले पनि हलमा आक्रमक व्यापार गरिरहेको छ । कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको सिनेमाले मंगलबारसम्ममा ७ करोडमाथि व्यापार गरिसकेको निर्देशक रामबाबु गुरुङले दाबी गरेका छन् ।

निर्देशक गुरुङकै कथा लेखन र निर्देशनमा बनेको सिनेमाले दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हलमा अधिकांश शो पनि हाउसफूल भइरहेका छन् । दर्शकको बढ्दो आकर्षण र उत्साहजनक व्यापारका कारण सिनेमाले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माता निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - १२:२०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology