मनाङ, ८ चैत्र । हिमाली जिल्ला मनाङमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मनाङको नासों गाउँपालिका ३ खोत्रोमा लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक हिजो दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो।
गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक हिजो दिउँसो मर्स्याङ्दी नदीमा खसेको हो ।
दुर्घटनामा परेर नासो गाउँपालिका–४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो ।
यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।