चितवन । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ। काफ्लेको १३औँ दिनको पुण्यतिथिका अवसरमा उहाँका बुबा महोदत्त काफ्ले र परिवारले उहाँले अध्ययन गरेको जनजीवन माध्यमिक विद्यालय, माडीलाई दुई लाख ५५ हजार ४२९ रुपैयाँ हस्तान्तरण गरेका हुन्।
काफ्ले परिवारले विद्यालयका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। विद्यालयमा कक्षा १० सम्म लगातार प्रथम हुँदै आएका काफ्लेको शैक्षिक योगदान र स्मृतिलाई जीवित राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ।
अक्षयकोषबाट विद्यालयमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिने काफ्लेका बुबा महोदत्तले बताउनुभयो। उहाँका अनुसार छोराको सम्झनालाई शिक्षा र विद्यार्थीको प्रोत्साहनसँग जोड्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो। इन्जिनियर काफ्लेको शव भदौ १२ गते नवलपुरको गैँडाकोट नगरपालिका–७, गैरीमा फेला परेको थियो।
भरतपुर महानगरपालिका–७, प्रेमबस्ती निवासी काफ्ले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो। प्राकृतिक विपद्मा ज्यान गुमाएका काफ्लेको स्मृतिमा परिवारले स्थापना गरेको अक्षयकोषले विद्यालयका विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। रासस