Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवनमा भोटेकोशी बाढीका बेपत्ताका आफन्तको डिएनए नमुना सङ्कलन

चितवनमा भोटेकोशी बाढीका बेपत्ताका आफन्तको डिएनए नमुना सङ्कलन

रासस

१८, भाद्र २०८३
चितवनमा भोटेकोशी बाढीका बेपत्ताका आफन्तको डिएनए नमुना सङ्कलन
images

नारायणगढ (चितवन)। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना रगत सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।

images
images

बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिनुभयो । छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उहाँ नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुग्नुभएको छ । डिएनए नमुना दिए पनि उहाँको मन अझै ढुक्क हुन सकेको छैन । यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उहाँले डिएनए नमुना त दिनुभयो, तर उहाँको मनमा अझै पनि छोरा जीवितै भेटिने आश बाँकी नै छ ।

त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा ११ गतेदेखि नै चितवनमा हुनुहुन्छ । आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सक्नुभएन । “सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनए ‘म्याचिङ’का लागि रगत दिएको हुँ ।” उहाँले आफ्नो पीडा पोख्नुभयो । थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा छ । छोराले काम गर्ने कम्पनी काठमाडौँमा रहेको र कम्पनीसँग सल्लाह गरेर त्यहाँ जाने तयारीमा रहेको उहाँले बताउनुभयो । कम्पनीले पनि खोजीमा सहयोग गरिरहेको जनाउँदै उहाँले कम्पनीले घटनास्थलसम्म जाने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने आश व्यक्त गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नभएका शवबाट डिएनए नमुना निकालिएको छ । उहाँले यहाँ आफन्तबाट सङ्कलन गरिएको नमुना र शवको डिएनए मिलान गराउनका लागि रगत सङ्कलन भइरहेको जानकारी दिनुभयो । यहाँ सङ्कलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने उहाँले बताउनुभयो ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमुना सङ्कलन गरिएको र त्यसको नमुनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तको डिएनएसँग सफ्टवेयरमार्फत म्याचिङ गराइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरी पहिलो तहका आफन्त को डिएनए नमुना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ ।”
नेपाल प्रहरीले पहिचान नभएका र बेवारिसे अवस्थामा रहेका शवलाई आफन्तजनको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

स्वदेशमा रहेका परिवारका लागिः चितवन बाहिर रहेका आफन्तले आफ्नो पायकपर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौँ को प्याथोलोजी ल्याबमा दुईप्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन् ।
विदेशमा रहेका आफन्तका लागिः विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा बसोबास गरिरहेकै देशमा डिएनए प्रोफाइल तयार गरी सोको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन् ।रासस

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १०:२०:१४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology