Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध

वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध

images

रासस

३, भाद्र २०८३
वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
images

काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान १०ः३० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ । उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडास्थित कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक १० मिटर भासिएपछि यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ । रासस

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १२:१८:५४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology