Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

रासस

२, भाद्र २०८३
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
images

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो ।

images
images
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो । पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि हुनुहुन्छ । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विषयका साथै नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गर्नुभएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका छ । रासस

images
प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १६:२२:११ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology