काठमाण्डौ, ४ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।
जोशीको उपचारमा खटिनुभएका डा. राजीव झाका अनुसार जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । तर, उहाँको अवस्था भने चिन्ताजनक रहेको छ । जोशीका प्रेस सहयोगी पुस्कर पाण्डेले पनि जोशीको अवस्था चिन्ताजनक र गम्भीर रहेको पुष्टि गर्नुभएको छ । नर्भिक अस्पतालले पनि जोशीको अवस्था गम्भीर रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।
फागुन १४ गते मस्तिष्कघाट भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा भर्ना भइ केही दिनको उपचारपछि जोशीको स्वास्थ्यमा सुधार आएपनि फेरी अवस्था गम्भीर बनेको छ ।