काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हालै मात्र आफ्ना पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने क्रममा बोलेको कुरालाई लिएर सहिद परिवारकी एक सदस्यले आक्रोश व्यक्त गरेकी छन् । जेनजी आन्दोलनमा शहिद भएका रसिक खतिवडाकी दिदी रसिला लामिछानेको अभिव्यक्तिले रुष्ट बनेकी हुन् लामिछानेले आफ्नो पार्टीका सांसदहरुलाई सम्वोधन गर्नेक्रममा उनीहरु सजिलो संघर्ष गरेर यहाँसम्म आएको टिप्पणी गरेका थिए ।
उनको अभिव्यक्ति यस्तो थियोः
‘हामीले सजिलो क्रान्ति गरेर अहिले सत्तामा आएका हौँ । पुराना दलहरूले ३० वर्षसम्म आफ्नो सबै कुरा बिर्सेर देशका लागि संघर्ष गरेर प्रजातन्त्र ल्याए र जनयुद्ध जस्ता क्रान्ति गरेर अहिलेको यो अवस्था आएको हो । अहिले कति सजिलो छ, बिहान घरमा खाना खाएर, परिवारसँग बसेर, बालबच्चासँग बसेर काम गर्ने अवसर छ तपाईंहरुलाई । हामी चुनावमा जाँदा बहुमत आउँछ भन्ने थाहा पाएर गएका थियौँ, संसारमा कसैको पनि यति सजिलो संघर्ष भएको छैन । यति सजिलो अवस्थामा पनि हामीले काम गरेर परिणाम दिन सकेनौँ भने हामी जस्तो नालायक कोही हुने छैन ।’
रसिलाको भनाइ उनकै शब्दमाः
हाँसउठ्दो कुरा क्या, सजिलो संघर्ष रे । यो एकदमै सजिलो संघर्ष थियो, किनभने बच्चाहरुको छातिमात्र फुटेको थियो । टाउकोमात्र फुटेको थियो । अंगभंग मात्र भएका थिए । देश जलेको थियो । मान्छेको घर–व्यवसाय जलेको थियो । त्यसैले एकदम सजिलो संघर्ष । जेनजीहरुले गरेको सबै सजिलो संघर्ष थियो । त्यही भन्न खोजिरहनुभएको हो रवि लामिछानेज्यू ? तपाईंले पाठ पढाउन खोज्दाखेरि भन्न खोजेको कुरा ठिक थियो होला, तर प्रयोग गरेको शब्द ठिक थिएन ।
यसलाई सजिलो संघर्ष नभन्नुहोला किनभने तपाईंको केही गुमेको छैन, गुमेको हाम्रो छ । बच्चाहरु मारिएका छन्, अंगभंग भएका छन् । त्यही भएर तपाईंको शब्दलाई ख्याल राख्नुहोला । त्यसले हाम्रो मन छुन्छ । हाम्रो बच्चाको छाति छियाछिया भएको छ गोलीले । अझै न्याय पाएका छैनाैँ । न्यायका लागि हामीले दिनरात गरिरहेको संघर्षलाई सजिलो नभन्नुहोला ।
तपाईं पो जेलमा हुनुहुन्थ्यो । अहिले छुटेपछि आएर आनन्दले सांसदमा बस्नुभएको छ र पाठ पढाउनुहुन्छ । पुरा प्रवचन दिनुहुन्छ । खोइ त न्याय दिनुभएको ? के गरिरहनुभएको छ ? केही त गर्नुभएको छैन । आफूले केही नगर्दा नभन्नुहोला सजिलो संघर्ष । तपाईंहरु पो सजिलै आउनुभएको छ । गुमेको हाम्रो छ । हाम्रो बच्चाको संघर्ष गाह्रो थियो । त्यसलाई पत्याएर जनताले भोट दिएका हुन् । त्यो सजिलो संघर्ष थिएन । हाम्रो बच्चाहरुको बलिदान भएकोउ थियो । मेरो भाइको मुटु छियाछिया भएको थियो । ऐया भन्न नपाई बितेको थियो । रवि लामिछानेज्यू यो सन्देश तपाईंसामु पुगोस् ।‘