चितवन, वैशाख १२
नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले यस कार्यक्रमलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको उल्लेख गर्दै यो विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा ‘प्लेटफर्म’का रूपमा चित्रण गर्नुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले यो मार्ट रणनीतिक प्लेटफर्मका रूपमा भएको बताउनुभयो ।
अन्तरराष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ ।”
कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा विश्वराज सुवेदीले प्रस्तुति दिनुभएको थियो भने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो । रासस