चितवन,फागुन२८।जिल्लाको समथर भूभाग छाडेर उत्तरपट्टि कविलासडाँडाको पाखामा रहेको ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ मा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक त्यहीँको उत्पादनको स्वाद लिएर रमाइरहेका छन् । तराईको गर्मी छल्दै नारायणगढबाट ४६० मिटर उक्लेपछि पुगिने रिसोर्ट यतिबेला स्वदेशी र विदेशी पर्यटकको रोजाइ बनेको हो ।रिसोर्टकै अग्र्यानिक कृषिफार्ममा उत्पादित तरकारीदेखि माछा, मासु र स्थानीय जातका पक्षीको स्वाद चाख्न होस् वा आधुनिक प्रविधिले सुसज्जित खेल र मनोरञ्जनमा डुब्न नै किन नहोस् कविलास रिसोर्ट जाने मानिसको हिजोआज लर्को देख्न सकिन्छ । पहाडी पाखोमा २२ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट परिसरमा वनभोज (पिकनिक) खानेदेखि सभा–समारोह, विवाहसम्मका कार्यक्रम हुने गरेका छन् । विसं २०७६ वैशाखदेखि शुरु भएको रिसोर्टमा बच्चादेखि युवा तन्नेरी हुँदै वृद्धसम्मका लागि मनोरञ्जनका साधनका कुनै कमी छैन ।रिसोर्टका कार्यकारी अध्यक्ष ई बाबुराम उपाध्यायका अनुसार रिसोर्ट परिसरमा सातवटा भिल्लासहित १७६ जना क्षमताका फरक–फरक कोठा छन् । परिवारसहित जानेका लागि तीनकोठे सातवटा भिल्ला छन् । रिसोर्टमा तालिम तथा गोष्ठीका लागि ३००, २०० र १०० जना अट्ने चारवटा सभाकक्ष छन् । रिसोर्ट परिसरमा बच्चादेखि वृद्धसम्मका लागि विभिन्न खेल साधन रहेका छन् । बच्चाका लागि भिडियो गेम, चिल्डेन वाटर किङ्डम, रेल, सन एण्ड मुन, स्काइजेट स्ट्राकिङ, पौडीपोखरीजस्ता खेल रहेका छन् । ठूलाका लागि ड्र्यागन कोष्टर, फेरिस ह्वील, ब्रेक डान्स, वाटर किङ्डम, बेभ पुल, पौडीपोखरी रहेका छन् । बच्चादेखि वृद्धसम्म सबैका लागि रेन डान्स पनि रहेको उपाध्यायको भनाइ छ । रेष्टुरेन्टबाट झोलुङ्गे पुल तरेर छुट्टै परिसरभित्र खेल सामग्री राखिएका छन् ।रिसोर्टसँगै चार बिघा जमिनमा कृषिफार्म सञ्चालन गरिएको छ । फार्ममा तरकारी, खसी, स्थानीय जातका कुखुरा, हाँस, टर्की, बट्टाई, माछापालन गरिएको छ । उहाँका अनुसार अहिले फार्ममा सात हजार स्थानीय जातका कुखुरा, २०० हाँस, ५० टर्की, ५०० बट्टाई, ६० खसी–बोका र चारवटा पोखरीमा माछा पालिएको छ । त्यहाँ पालिएका पक्षीले पारेको अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला कोरलेर आफैँ हुर्काउने गरिएको छ । खुला ठाउँमा छाड्ने हुँदा ती पक्षीको मासु स्वादिष्ट हुने उपाध्याय बताउनुहुन्छ ।
फार्ममा आलु, प्याज, साग, धनियाँ, मटरकोसा, मुला, काउली, ब्रोकाउली, करेला, खुर्सानी, बैगुनलगायतका तरकारी फलाइएको छ । फार्ममा मात्रै १० जनाले रोजगारी पाएका छन् । उपाध्यायले भन्नुभयो, “रिसोर्ट र वनभोजका लागि आउनेलाई स्वादअनुसारका यहीँको उत्पादन हामी खुवाउँछौँ ।” सबै उत्पादन प्राङ्गारिक रहेको उहाँको भनाइ छ ।रिसोर्टकै परिसरमा छुट्टै वनभोजस्थल छ । यहाँ २५ समूहका लागि छुट्टाछुट्टै टहरा (सेड) व्यवस्थापन गरिएको छ । बिजुली, पानी, वाद्यवादनका उपकरण उपलब्ध छन् । त्यसका अतिरिक्त दुईवटा २०० जना क्षमताका सभाहल पनि वनभोजस्थलमै रहेका छन् । वनभोजसहितको कार्यक्रम गर्नेका लागि उक्त हल उपलब्ध गराइने उहाँको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनभोज आउन चाहनेका लागि घरबाट ल्याउनेदेखि यहीँको सामानसहित खाना पकाएर खुवाउने र घरसम्म पुर्याउने व्यवस्था गरेका छौँ”, उहाँले थप्नुभयो, “वनभोज आउन चाहनेले कुनै पनि सामान ल्याउनु पर्दैन, सबै हामीले नै व्यवस्था गरिदिन्छौँ ।” रिसोर्ट नजिकै सिद्धेश्वर महादेवको मन्दिर छ । मन्दिरमा पूजाआजा र विवाहका लागि समेत मानिस पुग्ने गरेका छन् ।रिसोर्टका प्रमुख कार्यकारी निर्देशक शुलभ ढकालका अनुसार स्वदेशी र भारतीय पर्यटक धेरै सङ्ख्यामा आउने गरेका छन् । कोभिडपछि गत मङ्सिरदेखि खुलेको रिसोर्टमा क्रमशः पर्यटक बढ्दै गएका छन् । उहाँले भन्नुभयो, “भारतबाट आएर चारवटा विवाह यहाँ भएका छन् ।” नेपालीहरु पनि विवाहका लागि पुग्ने गरेको उहाँले बताउनुभयो । वीरगञ्ज, भैरहवालगायत सीमा क्षेत्रका भारतीय पर्यटक र नेपालका विभिन्न ठाउँबाट पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माडवारी समाजका धेरैको रोजाइ यो रिसोर्ट बनेको छ ।” सोझै आउनेभन्दा पहिले नै बुक गरेर आउने बढी भएको उहाँले बताउनुभयो ।