काठमाण्डौ, २७ फागुन । आगामी चैत दोस्रो हप्ताबाट परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले बताउनुभयो । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ गतेपछि १७ करोड लिटर पानी काठमाडौंमा वितरणको तयारी भैरहेको उहाँको भनाइ छ ।
नयाँ पाइपलाइनको परीक्षण नसकिउन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ । वर्षायाम लागेपछि भने एक पटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गरिने खत्रीको भनाइ छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मेलम्चीको पानी वितरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार भएको छ ।
अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । भोलीदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने आयोजनाले जनाएको छ ।