Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुवेतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली चेलीको बिचल्ली, एक जना पक्राउ

कुवेतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली चेलीको बिचल्ली, एक जना पक्राउ

इच्छाकामना न्युज

७, चैत्र २०८२
कुवेतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली चेलीको बिचल्ली, एक जना पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुर्‍याएर एक नेपाली महिलालाई बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको र घरको तलाबाट खसालेर घाइते बनाएको गम्भीर घटना सार्वजनिक भएको छ। काठमाडौँको बबरमहल निवासी ती महिलालाई फ्रि भिसा र फ्रि टिकटमा कुवेत पठाइदिने प्रलोभन देखाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी जेल चलान गरेको छ।

images
images

पीडित महिलालाई सुशिला थारु लगायतका व्यक्तिहरूले काठमाडौंको टोखा नगरपालिका-२६, बिजीमल नजिकै रहेको सरु ब्युटी पार्लरमा भेटेका थिए। उनीहरूले पीडितलाई कुवेतमा ब्युटी पार्लरकै काम लगाइदिने र मासिक १२० कुवेती दिनार तलब हुने आश्वासन दिएका थिए। 

आकर्षक कमाइ हुने लोभमा परेकी ती महिलालाई २०८२ असार ४ गते काठमाडौंको नयाँ बसपार्कबाट सडक मार्ग हुँदै बुटवल र नेपालगञ्जको रुपेडिया नाका प्रयोग गरी भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो।

भारतको नयाँ दिल्ली पुर्‍याएपछि पीडितलाई भाग्न वा कसैको सम्पर्कमा आउन नदिई नियन्त्रणमा राखिएको थियो। त्यहाँबाट उनलाई हवाई मार्ग हुँदै यूएईको दुबई ट्रान्जिट बनाएर कुवेत पुर्‍याइयो। कुवेत पुगेपछि भने उनलाई सम्झौता अनुसार ब्युटी पार्लरमा नभई घरेलु कामदारको रूपमा एक घरमा बन्धक बनाइयो।

कुवेतमा रहँदा पीडित महिलाले चरम शारीरिक र मानसिक यातना भोग्नुपर्‍यो। उनलाई कामको चाप दिने, समयमा खान नदिने र कुटपिट गर्ने गरिएको जाहेरीमा उल्लेख छ। सोही क्रममा घरधनीले काम गर्न नसकेको भन्दै ती महिलालाई घरको दोस्रो तलाबाट तल धकेलिदिएका थिए। सोही घटनाका कारण उनको दुवै खुट्टा भाँचिएर उनी गम्भीर घाइते भइन्।

उनको नाजुक अवस्था देखेपछि कुवेत प्रहरीले उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराएको थियो। कुवेतमा क्रियाशील युवा शक्ति नामक संस्थाको विशेष पहल र सक्रियतामा पीडित महिला २०८२ मंसिर ९ गते नेपाल फर्कन सफल भइन्।

नेपाल फर्किएपछि पीडितले २०८२ माघ ८ गते आफूलाई अलपत्र पार्ने र बेचबिखन गर्ने समूह विरुद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा घटनामा संलग्न सुर्खेत, गर्भाकोट गाउँपालिका-५ घर भएका ४८ वर्षीय ससिराम खड्कालाई २०८२ चैत २ गते काठमाडौँको टोखाबाट पक्राउ गर्‍यो।

पक्राउ परेका खड्कालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान गरेपछि चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको थुनछेक आदेशले प्रतिवादी खड्कालाई पुर्पक्षका लागि जगन्नाथदेवल कारागार पठाइएको छ। 

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - १०:०८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology