Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

‘हर्कपथ’को सिद्धान्त बोकेर मतदातासमक्ष पुग्दै मिलन थापा

‘हर्कपथ’को सिद्धान्त बोकेर मतदातासमक्ष पुग्दै मिलन थापा

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
‘हर्कपथ’को सिद्धान्त बोकेर मतदातासमक्ष पुग्दै मिलन थापा
images

भरतपुर । प्रतिनिधिसभाको निर्वाचनले छपक्कै छोप्न थालेको छ । दलका उमेदवार र तिनका समर्थकले प्रचारप्रसारलाई थप तीव्र बनाउन थालेका छन् । केही महिनाअघिमात्रै उदाएको श्रम संस्कृति पार्टी र तिनका उमेदवारहरुले पनि चुनावी प्रचारप्रसारलाई व्यापक बनाउँदै लगेका छन् । देशकै चर्चामा रहेको चितवन–२ बाट उमेदवारी दिएका मिलन थापामगरले कार्यकर्ता भेटघाटसँगै मतदातासमक्ष आफ्ना चुनावी प्रतिबद्धता पेस गर्दै हिँडेका छन् ।

नेपाल मगर संघको माध्यमबाट सामाजिक काममा लामो अनुभव बटुलेका मिलनले आफूलाई हर्कपथको माध्यमबाट राजनीतिक यात्रामा अघि बढाउने प्रयास गरेका छन् । धरानका तत्कालीन मेयर हर्कराज साम्पाङ राई नेतृत्वको पार्टीले यही निर्वाचनबाट चितवनमा पनि बलियो उपस्थिति जनाउने प्रयास गरिरहेको छ । तसर्थ, मिलन थापामगरले चुनाव जित्ने अठोट लिएर मैदानमा होमिएका छन् ।

‘संसदीय निर्वाचनको अभ्यासमा पहिलोपटक सहभागी भएको छु । तर, चितवनमा पुराना दलहरुबाट आजित भएका मतदाता हाम्रो उपस्थितिले खुसी हुनुहुन्छ’, उनी भन्छन्, ‘पार्टी स्थापना भएकै वर्षदेखि हामी जनमानसमा प्रवेश गर्न सफल भएका छौँ । पुराना माथिको भरोसा टुटिसकेको हुँदा नयाँ दल मतदाताको रोजाइमा पर्ने देखिन्छ ।’

उनले श्रमको सम्मान र जनश्रम, भ्रष्टाचारविरूद्ध कठोर अडान, जनतासँग प्रत्यक्ष संवाद, दलभन्दामाथि जनहित, आत्मनिर्भरता, परिणाममुखी शासनप्रणाली, श्रम र संस्कृतिलाई विकासको आधार बनाउने योजना अघि सार्दै आएका छन् ।

प्रत्येक स्थानीय तहमा श्रम बैंक स्थापना गर्दै युवालाई देशभित्रै रोक्नका लागि आवश्यक सीप तथा श्रममा आधारित उद्योग स्थापना गर्ने लक्ष्य राखेका छन् । श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा र सम्मान सुनिश्चितता र अनिवार्य श्रम र श्रमदानलाई पनि चुनावका लागि मुख्य मुद्दा बनाएको छ ।

कृषि क्षेत्रका लागि खेतदेखि बजारसम्म सहजीकरण गरिदिने, किसानलाई उत्पादनको आधारमा उचित मूल्य दिलाउने, सहकारीमार्फत आधुनिक कृषि प्रविधिको विकास र प्रयोग गर्ने तथा मल, बीउ र सिंचाइमा राज्यले प्रत्यक्ष जिम्मेवारी लिनेजस्ता विषयलाई पनि हर्कपथले छोएको छ ।

शिक्षालाई रोजगारीसँग जोड्नुका साथै प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तारमा पनि जोड दिएको छ । श्रमिकमैत्री स्वास्थ्य बिमा कार्यक्रम लागू गरी नागरिकस्तरमा स्वास्थ्यसेवाको पहुँच पु¥याउने लक्ष्य पनि पार्टीले अघि सारेको छ ।

‘उल्लेखित बुँदाहरुलाई बोलेर होइन, कार्यान्वयन गरेर देखाउने प्रतिनिधिको रुपमा आफूलाई स्थापित गराउन चाहन्छु’, चितवन क्षेत्र नं २ का उमेदवार मगर भन्छन्, ‘म जनताबाट टाढा होइन, सधैँ साथमै रहन्छु ।’ आफूले गरेका गतिविधि र निर्णय जनताका लागि सदैव खुला रहनेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।

तीनवटा निर्वाचन क्षेत्र भएको चितवनमा क्षेत्र नं २ बढी चर्चामा छ । किनकि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तेस्रोपटक यही क्षेत्रबाट चुनाव लड्दैछन् ।

लामिछानेबाहेक नेपाली कांग्रेसबाट अधिकारकर्मी मीनाकुमारी खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रताप गुरूङ पहिलोपटक चुनावी मैदानमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - ११:०९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology