युक्रेनको ऊर्जा क्षेत्रमा भएको करिब १० करोड डलरको ठुलो भ्रष्टाचार काण्डमा मुछिएका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दा पक्राउ परेका छन्। उनलाई युक्रेनी अधिकारीहरूले रेलमार्फत सीमा पार गर्न खोजिरहेको अवस्थामा पक्राउ गरेका हुन्।
गत वर्ष भ्रष्टाचार काण्डमा नाम मुछिएपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो। युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (नाबु) का अनुसार ‘अपरेसन मिडास’ अन्तर्गत भइरहेको अनुसन्धानको क्रममा उनलाई सीमा नाकाबाटै हिरासतमा लिइएको हो।
गालुश्चेन्कोमाथि युक्रेनको राष्ट्रिय आणविक ऊर्जा कम्पनी ‘एनर्जोएटम’का ठेकेदारहरूबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल गरेको र सो रकम विदेशमा अवैध रूपमा पठाएको आरोप छ।
अनुसन्धान अधिकारीहरूले यसअघि नै नगदले भरिएका झोलाहरूका तस्बिर सार्वजनिक गर्दै यो योजनाबद्ध भ्रष्टाचार भएको दाबी गरेका थिए।
गालुश्चेन्कोलाई थप सोधपुछका लागि राजधानी किभ लगिएको छ। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सी चर्निशोभ समेत पक्राउ परिसकेका छन् भने केही अन्य संदिग्धहरू देश छोडेर भागिसकेका छन्।