माडी । चितवनको माडीमा पहिलो बागमती सालक सम्मेलन भएको छ । सम्मेलनले सालक संरक्षणका लागि सात बुँदे माडी घोषणापत्र जारी गरेको छ । डिभिजन वन कार्यालय चितवनको संयोजनमा बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले गरेको सम्मेलनमा सालकलाई बागमती प्रदेशको ‘गौरवको वन्यजन्तु’ घोषणा गरिने प्रतिबद्धता गरिएको छ ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्री भरतबहादुर केसीका अनुसार आगामी वर्ष सालक संरक्षणका लागि नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गरिनेछ । प्रमुख अतिथिसमेत रहेका मन्त्री केसीले भने, ‘अवैध व्यापार, बासस्थान विनाश, डढेलोलगायतका कारण सालक सङ्कटापन्न अवस्थामा रहेको छ, यसको संरक्षणमा बागमती प्रदेश सरकार निरन्तर लाग्नेछ ।’
जारी गरिएको माडी घोषणापत्रमा सालकलाई गौरवको प्राणी घोषणा गर्नेदेखि यसको संरक्षणको लागि थप अध्ययन र अनुसन्धान गरिने उल्लेख छ । सालक पाइने वन र संरक्षित क्षेत्रहरुमा संरक्षण तथा बासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धिलगायतका कार्यहरु गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । घोषणपत्रमा चोरीसिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघसंस्थाहरु, स्थानीय समुदायहरुको सहयोगमा सामूहिक पहल गर्ने जनाइएको छ । पत्रमा सबै प्रदेश तथा राष्ट्रियस्तरमा सालक सम्मेलन गर्न बागमती प्रदेश सरकारमार्फत अनुरोध गरिने भनिएको छ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सालक संरक्षणमा नीति कार्यक्रमसहितको उचित बजेट व्यवस्थापनको प्रतिबद्धता जाहेर गरेकाले सोको वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने निर्णय घोषणापत्रमा गरिएको हो ।
सम्मेलनमा सहभागीहरुले घोषणापत्रमा हस्ताक्षर गरेर सालक संरक्षणमा जुट्ने प्रतिबद्धता गरेका छन् । ‘प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम बनाउनेछ, आउँदो वर्षदेखि नियमितरुपमा सालक संरक्षणका लागि काम हुनेछ’ वनमन्त्री केसीले भने, ‘स्थानीयको अपनत्व हुने गरी जंगल छेउ र बस्तीमा सालक संरक्षणका कार्यक्रम लगिनेछ ।’ सम्मेलनमा विज्ञ र सरोकारवालाबीच प्यानलगत छलफल गरिएको थियो । तीन वटा कार्यपत्र प्रस्तुत भएको थियो, कार्यपत्रमाथि छलफल र प्रश्नोत्तर चलेको थियो ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशी र सालक अनुसन्धानकर्ता डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुको कार्यपत्रमाथि सहभागीले छलफल गरिएको थियो ।
यस्तै, डा. तुलसी लक्ष्मी सुवाल, वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य र बागमती प्रदेश वन मन्त्रालयका सचिव डा. केदार बरालको समूहले प्यानल छलफल गरेर सालक संरक्षणमा योगदान दिन सबैलाई आग्रह गरेको थियो ।
घोषणापत्र जारी भएपछि बागमती प्रदेशका निवर्तमान वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सालक सम्मेलन सालक संरक्षणको लागि कोशेढुंगा भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख गणेश पन्तले सालक संरक्षणमा निकुञ्जले पनि योगदान दिने बताए ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका सब डिभिजनका प्रतिनिधि, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वनका प्रतिनिधि, वन्यजन्तु संरक्षणकर्मी, अभियन्ता, विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित दुई सय बढीको सहभागिता रहेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा कालो र तामे गरी दुई प्रजातिका सालक पाइन्छ । नेपालमा ६१ जिल्लामा सालक पाइन्छ । बागमती प्रदेशका १३ वटा जिल्लामा सालक छन् । सालक लोपोन्मुख स्तनधारी प्राणी हो । यो प्रकृतिको साथी हो । यसले कमिला, धमिरालगायत हानीकारक कीरा खान्छ । चोरी शिकारीका कारण कारण सालक संकटमा परेको छ । नेपालमा पाइने सालकले एक दिनमा २० हजार धमिरा र कमिला खानसक्छ । सालक जमिनमुनि बस्ने भएकाले माटोलाई मलिलो र खुकुलो बनाउँछ, जसका कारण यसलाई किसानको साथी पनि भनिन्छ ।