Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गोरखाकी सम्झना देवकोटा बनिन् राष्ट्रिय सभा सांसद

गोरखाकी सम्झना देवकोटा बनिन् राष्ट्रिय सभा सांसद

images

इच्छाकामना न्युज

१२, माघ २०८२
गोरखाकी सम्झना देवकोटा बनिन् राष्ट्रिय सभा सांसद
images

गोरखा । पटक पटक हार व्यहोर्दै आएकी गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यमा बनेकी छन् । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतवार भएको मतदानमा बिजयी बनेर उनले राष्ट्रिय सभा छिर्ने अवसर पाएकी हुन् । कांग्रेस एमाले गठबन्धनको फाइदा लिदैँ सम्झनाले राष्ट्रिय सभामै दोस्रो प्रयासपछि सांसद बन्ने सौभाग्य पाएकी हुन् ।

‘कांग्रेस–एमालेको गठबन्धनकै कारण एमालेले पनि सांसद पाएको हो । एक्लै लड्दा जित्ने अवस्था नरहेकी सम्झनाले माननीय हुने अवसर पाएकी हुन्,’ मतदातासमेत रहेका गण्डकीका एक कांग्रेस सांसदले भने । गठबनधन नहुँदा सम्झनाले जित्ने निश्चित थिएन । अघिल्लो पटक पनि राष्ट्रिय सभामै पराजित गोरखाकी सम्झना यसपटक जित पक्का भएपछि मनोनयनदेखि नै उत्साही थिइन् ।

जेनजी आन्दोलनका क्रममा भदौ १९ गते युवा विद्यार्थीको ज्यान गएपछि सम्झनाले पनि सरकारको विरोध गरेकी थिइन् । उनले त्यसको जिम्मेवारीसमेत ओलीले लिनुपर्ने बताएकी थिइन् । तर परिस्थिति फेरिँदै गएपछि सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस हटाइन् र ओलीकै पक्षमा उभिइन् ।

उनलाई एमालेको अधिवेशनबाट सचिवमा विजयी भएका गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी आफैंले काठमाडौं लगेर राष्ट्रिय सभाको टिकट ल्याएका थिए । नत्र चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी सम्झना यसपालि ओली प्यानलमै थिइनन् । एमालेको अघिल्लो केन्द्रीय कार्यसमितिमा खगराज संगठन विभाग प्रमुख हुँदा सम्झना सचिवको जिम्मेवारीमा थिइन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनको नाम समानुपातिक सूचीमा भए पनि सांसद बन्ने अवस्था थिएन ।

सम्झना यसअघि गोरखा नगरपालिकाको उपमेयर, मेयर हुँदै अघिल्लो राष्ट्रिय सभामा पनि हार बेहोरेकी नेता हुन् । एमालेको कमजोर जनाधार भएको गोरखाको २०७४ मा उपमेयर र २०७९ मा मेयरमा पराजित भएपछि २०८० माघ ११ गते भएको राष्ट्रिय सभामा एमालेले हार्ने चुनाव पनि उनैलाई लडाएको थियो । त्यसको ठिक २ वर्षपछि एमालेबाटै टिकट लिएर पाएर कांग्रेससँगको गठबन्धनकै बलमा उनले राष्ट्रिय सभा छिर्ने अवसर पाएकी हुन् ।

सम्झना जिल्लामा सचिव नेतृत्वमा हुने प्रणाली हटेर अध्यक्षात्मक प्रणालीमा गएपछि गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । २०६६ सालमा मतदानबाटै चुनिएकी उनी देशभरका एमाले जिल्ला सचिव बनेका २ जना मात्र महिलामध्ये हुन् । त्यो बेला सम्झना र झापामा पवित्रा निरौला मात्र पार्टी सचिव बनेका थिए ।

सम्झना गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा विगत चार दशक लामो यात्रा गरेकी उनी २०४० सालदेखिदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी हुन् । २०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पस इकाइ सहसचिव पदमा रहेर काम गरेकी सम्झनाले २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिइन् ।

२०४८ सालमा अखिल नेपाल महिला संघ, जिल्ला कमिटीको संस्थापक अध्यक्ष बनेर महिला आन्दोलनको नेतृत्व गरेकी उनी २०५४ सालबाट जिल्ला सदस्य, जिल्लाको सचिव हँुदै २०७४ मा प्रदेश कमिटी सदस्य थिइन् । एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिएसँगै गोरखाबाटै सम्झनाले सांसद बन्ने अवसर पाएकी हुन् ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ११:२६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology