Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्यटकको रोजाइमा रत्नेचौर

पर्यटकको रोजाइमा रत्नेचौर

रासस

६, माघ २०८२
पर्यटकको रोजाइमा रत्नेचौर
images

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

images
images

केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

‘चार वर्षअघिसम्म सुनसान हुने यो ठाउँमा अहिले दैनिक दुई हजार जनासम्म पर्यटक आएका छन्’, उनले भने, ‘पर्यटकको चहलपहलले व्यापार वयवसाय र आर्थिक गतिविधि बढेको छ ।’

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला, पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।

अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धवलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको कुश्माबाट आएका सागर भट्टराईले बताए ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (आठ हजार १६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।

तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।

पहेलैँ फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको स्थानीय युवा कुशल शर्माले बताए । पर्यटकको भीडले गर्दा तोरी र गहुँबालीमा क्षति हुने गरेको स्थानीयवासीले गुनासो पनि गरेका छन् । तोरी र गहुँको खेतभित्र नपसिदिन पनि स्थानीयको आग्रह छ ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ ।

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

रत्नेचौरको प्रचारप्रसार र संस्कृति संरक्षण गर्ने उद्देश्यले यही माघ १६ गते एकदिने बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश तथा विदेशमा रहेका रत्नेचौरवासीबाट सहयोग जुटाएर लोकगायक गायिकाहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको स्थानीय अगुवा नेत्र महतले जानकारी दिए ।

पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोशाक लगाएर तस्बिर, भिडियो खिच्ने गर्दछन् । पर्यटकहरूलाई जातजातिको मौलिक पोशाक भाडामा लगाएर स्थानीयले आम्दानी गरेका हुन् । तोरीबारीमा मौलिक पोशाक लगाएर तस्बिर खिच्ने र सामाजिक सञ्जालमा राख्ने भिडियो बनाउने गरेका व्यवसायी रामकृष्ण पुनले बताए ।

एक जोडा पोशाक एक घण्टा प्रयोग गरेबापत रु दुई सयदेखि तीन सय ५० शुल्क लिने गरेको बताए । ‘मसँग १५ जोड मगर ड्रेस छन्’, उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लिनुहुन्छ ।’ रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिवर खिचिदिने पनि गरेका छन् । एउटा तस्बिर खिचेबापत २० शुल्क लिने गरेको थापाले बताए ।

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टरेन्ट तथा पसलहरूले पनि जातिय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरूको रोजाइमा परेको हो । बागलुङबाट रत्नेचौर आएकी रश्मी रानाले मौलिक पोशाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताए ।

‘तोरी र गहुँखेती भएको फाँटको बीचमा रहेको पक्की सडकमा मगर पोशाक लगाएर खिचेको फोटो र भिडियो आकर्षक देखियो’, उनले भने, ‘पृष्ठभूमिको धवलागिरि हिमाल र वरपरका मौलिक घरहरूले यहाँको दृश्यलाई क्यान्भासजस्तै बनाएको छ ।”

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - ०९:४७:०१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology