भरतपुर । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा (एमाले) चितवनले २७ जनाबाट काँटछाँट गरी १७ जनाको नाममात्रै प्रदेश कमिटीमा सिफारिस गरेको छ । चितवनका तीनवटा क्षेत्रबाट क्षेत्रीय कमिटीले २७ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।
प्रदेशको आज सोमबार बस्ने बैठकले सिफारिस भएका नामलाई सम्भवतः जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाउने छ । प्रदेश कमिटीका एक सदस्यका अनुसार जिल्लाबाट आएका नामलाई सकार्दै आकस्मिक कुनै निर्णय नभए उमेदवारमा सिफारिस भएको नामलाई हुबहु नै केन्द्रीय कमिटीमा पठाइने छ ।
एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाले क्षेत्रीय कमिटीबाट आएका नाम केही काँटछाँट गरी प्रदेश कमिटीमा पठाइएको बताए । तीनवटा क्षेत्रबाट १० जनाको नाम काटेर १७ जनाको नाम प्रदेश कमिटीमा सिफारिस भएको उनको भनाइ छ ।
चितवन क्षेत्र नं ३ बाट एमाले जिल्ला कमिटीले शंकर थपलियाको नाम एकलरुपमा जिल्ला कमिटीले सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं ३ बाट क्षेत्रीय कमिटीले ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । एमाले सचिव ढुङ्गानाले जिल्ला कमिटीले सिफारिस भएका नाममाथि आन्तरिक मूल्याङ्कन गरी ६ जनाबाट एक जना थपलियाको नाममात्रै सिफारिस गरेको बताए । थपलिया हाल भरतपुर महानगर कमिटीका अध्यक्ष हुन् ।
उमेदवारका लागि क्षेत्रीय कमिटी क्षेत्र नं ३ ले राष्ट्रिय सभा राष्ट्रिय सरोकार समितिकी निवर्तमान सभापति दिलकुमारी रावल पार्वती, एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया, क्षेत्रीय संयोजक सुदीप रेग्मी, विजय विक, डोलनाथ अधिकारी र दिव्य शर्माको नाम सिफारिस गरेको हो ।
क्षेत्र नं २ बाट १५ जना र चितवन क्षेत्र नं ३ बाट ६ जनाको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको थियो । जिल्ला कमिटीले क्षेत्र नं २ मा पाँच जनाको नाम काटेर बाँकी नामलाई सिफारिस गरेको छ । क्षेत्र नं १ मा क्षेत्रीय कमिटीले सिफारिस गरेका सबैको नाम प्रदेश कमिटीमा सिफारिस भएको सचिव ढुंगानाले जानकारी दिए ।
क्षेत्र नं २ का सचिव प्रकाश आचार्यका अनुसार क्षेत्र नं २ बाट आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उमेदवार बन्नका लागि १५ जनाको नाम जिल्ला कमिटीमा सिफारिस भएको थियो । जिल्ला कमिटीले १० जनाको नाममात्रै प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
सिफारिस हुनेमा देवी ज्ञवाली, राजकुमार श्रेष्ठ, डा. तिलचन्द्र भट्टराई, सुनिता अधिकारी, अश्विन घिमिरे, रामचन्द्र कँडेल, धिरनबाबु घिमिरे, अविरल पोखरेल, शारदा कुमाल, शम्भु सुवेदी रहेका छन् । क्षेत्रीय कमिटीबाट सिफारिस भएका विजय सुवेदी, कृष्णभक्त पोखरेल, कृष्ण सिलवाल, शंकर अधिकारी र रमाकान्त सापकोटाको नाम जिल्ला कमिटीले हटाएको एमाले सचिव ढुङ्गानाले बताए ।
चितवन क्षेत्र नं १ को क्षेत्रीय कमिटीले सिफारिस गरेको ६ जनाको नाम जस्ताको तस्तै जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको छ । एमाले प्रदेश कमिटी उपाध्यक्ष दावादोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य रत्ननगर–५ निवासी लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्वसदस्य रत्ननगर–१३ का डा. किशोरचन्द्र खनाल, चितवन क्षेत्र नम्बर १ (क) संयोजक खैरहनी कुमरोजका कृष्णलाल चौधरी र क्षेत्र नं १ का सचिव खैरहनी–८ का भरत भण्डारीको नाम सिफारिस गरिएको छ ।
चितवन क्षेत्र नं १ बाट यसअघि दुईपटक जितेका सुरेन्द्र पाण्डेको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको थिएन । जिल्ला कमिटीले पनि पाण्डेको नाम सिफारिस नगरी क्षेत्रीय कमिटीबाट आएको नाम जस्ताको तस्तै प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
‘क्षेत्रबाट पाण्डेको नाम सिफारिस भएन, जिल्लाले नै उहाँको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छैन । उहाँ केन्द्रीय नेता हो, केन्द्रमा नेताहरुले नै छलफल गरेर एउटा निर्णय गर्लान्’, सचिव ढुङ्गानाले भने, ‘जिल्लाले उहाँको नामको विषयमा केन्द्रलाई निर्णय गर्ने अधिकार दिएको छ, केन्द्रको निर्णय नै सर्वोपरि हुनेछ ।’