मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा अवस्थित त्रिवेणी बराह माविमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको तलब ३ महिनादेखि रोक्का भएको छ । विद्यालयको नाम परिवर्तन सम्बन्धि विवादमा सर्वोच्च अदालतले गरेको फैसला विद्यालय प्रशासनले कार्यान्वयन नगरेपछि विद्यालयको खाता नै रोक्का हुदाँ शिक्षक कर्मचारीको समेत तलब भत्ता रोकिएको हो ।
उक्त विद्यालयको नाम सम्बन्धमा लामो समयदेखि विवाद छ । तात्कालिन समयमा विद्यालय स्थापनाको बेला भएको जग्गादानको सहमती अनुसार जग्गादान गरेका नन्दप्रसाद त्रिपाठीको परिवारले विद्यालयको नाममा नन्दप्रसाद त्रिपाठीको नाम जोडेर विद्यालयको नाम राख्न ताकेता गर्दै जादा तात्कालिन शिक्षा मन्त्रालयले शिक्षा नियामावली २०५९ को नियम १५४ मा उल्लेख भएको प्रावधान बमोजिम विद्यालयको नाम त्रिवेणी बराह नन्द प्रसाद त्रिपाठी माध्यामिक विद्यालय कायम गरेको देखिन्छ । शिक्षा मन्त्रालयको उक्त निर्णय तात्कालिन विद्यालयको प्रशासनले नमानेपछि त्रिपाठी परिवार अदालत गएको देखिन्छ । यस्तै विद्यालयको नामाकरण खारेज माग गर्दै विद्यालय पक्षको तर्फबाट समेत तात्कालिन विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष शेर बहादुर थापाले रिट दायर गरेको देखिन्छ । यसरी दुवै पक्षले सर्वोच्च अदालतमा गरेको माग दावी उपर २०७१ साल कार्तिक २ गते सर्वोच्चले विद्यालय तर्फको थापा पक्षको रिट खारेज गर्दै विद्यालयको नाम त्रिवेणी बराह नन्द प्रसाद त्रिपाठी माध्यामिक विद्यालय कायम गर्न आदेश दिएको देखिन्छ । तर विद्यालयले लामो समय सम्म पनि उक्त फैसला कार्यान्वयन गरेको देखिदैन ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि अदालतले गत साल २०८१ पुस २ गते इच्छाकामना गाउँपालिकालाई पत्राचार गरेको थियो तत्पश्चात इच्छाकामना गाउँपालिकाले गत वर्षकै माघ २० गते विद्यालयलाई पत्राचार गरेर अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर विद्यालय प्रशासनले अहिलेसम्म पनि अटेरी गर्दै बसेको देखिन्छ । यस सम्बन्धमा विद्यालयलाई अदालतको फैसला कार्यान्वयनको लागि पालिकाले पटक पटक लिखित मौखिक ताकेता गरेको र फैसला कार्यान्वयन नभए विद्यालको सम्पूर्ण कारोबार रोक्का हुन सक्ने चेतावनी दिएको पालिकाले जानकारी दिएको छ । यद्यपी विद्यालयले फैसला कार्यान्वयन गर्छौ भन्ने तर नगर्ने प्रवृत्ति बढ्दै गएपछि चालु आर्थिक वर्षबाट विद्यालयको कारोबारमै कानुनी समस्या हुने प्रति पालिकाले पुनः सचेत गराएको थियो ।

यसैबिच उक्त फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतले पुनः ताकेता गरेर यहि २०८२ साल कार्तिक १६ गते पत्राचार गरेपछि नियामानुसार पालिकाले फैसला कार्यान्वयन नभएको भन्दै त्रिवेणी बराह माविको नामबाट हुने विद्यालयको कारोबारमा रोक लगाएको छ । जसले गर्दा असोज पछि विद्यालयमा कार्यरत कुनैपनि शिक्षक कर्मचारीले मासिक तलब भत्ता खान पाएका छैनन् ।

यसरी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले लामो समयदेखि मासिक तलब भत्ता पाउन नसकेपछि आइतबारबाट उनीहरुले आन्दोलन सुरु गरेका छन् जसका कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ ।
यस विषयमा विद्यालयका प्रध्यानाध्यापक युवराज लामासँग प्रतिक्रिया लिन सम्पर्क गर्दा अहिले विद्यालय व्यवस्थापन समिति र प्रशासन छलफलमा रहेकोले पछि कुरा गर्ने जानकारी दिनुभयो ।
त्यस्तै पालिकाले भने अदालतको फैसला कार्यान्वयन भएर आएको भोलिपल्टै खातामा नाम परिवर्तन गरी कारोबार सुचारु हुने भएकोले शिक्षक कर्मचारीले तलब भुक्तानी पाउने जानकारी दिएको छ । यद्यपी विद्यालयले भने हालसम्म पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी अदालतको मानहानी समेत गरेको छ ।