चितवन । भरतपुर अस्पतालले गत पाँच महिनामा औषधिको प्रतिकुल असर अर्थात् एड्भर्स ड्रग रियाक्सन (एडीआर) का २८ वटा घटना दर्ता गरेको छ। एडीआरको नियमित निगरानी तथा रिर्पोटिङ्ग प्रणाली मार्फत अस्पतालले यी २८ वटा घटना औषधि व्यवस्था विभागमा दर्ता गरेको हो।
भरतपुर अस्पताल विभागको रिजनल फर्माकोभिजिलेन्स सेन्टरको रुपमा रहेको फार्मेसी विभाग प्रमुख सबिनराज लामिछानेले बताए। यसरी भरतपुर अस्पतालले सेन्टरको रुपमा रहेर काम गरेको पनि पाँच महिना भएको छ।
‘हामीले यस किसिमको जानकारी औषधि परामर्श इकाई मार्फत संकलन गर्छौ।’ उनले भने, ‘वार्ड राउण्डमा, भर्ना भएका बिरामीहरुसँग यी जानकारी लिन्छौ भने कहिले काही बिरामी आफैँले पनि यो भनेर गुनासो गर्नु हुन्छ, त्यसबाट पनि संकलन गर्छौ।’
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ।