चितवन । घोषणा गर्ने तयारीमा रहेको उज्यालो पार्टी नेपालले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ। शनिबार भरतपुरमा भएको भेलाले जिल्लाका तीनै वटा निर्वाचन क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको पार्टीले जनाएको छ।
पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार क्षेत्र नम्बर १ मा कुशल केसी, क्षेत्र नम्बर २ मा सरला लामिछाने र क्षेत्र नम्बर ३ मा समीर केसीलाई सर्वसम्मतरूपमा सम्पर्क व्यक्ति तोकिएको हो।
क्षेत्र नम्बर १ का कुशल केसी नेपाल–अस्ट्रेलिया प्रवासी नेपाली संगठनमा आवद्ध छन्। क्षेत्र नम्बर २ की सरला लामिछाने विवेकशील आन्दोलनकी सक्रिय नेतृ हुन्। र, क्षेत्र नम्बर ३ का समीर केसी चितवनका स्वतन्त्र युवा नेता मानिन्छन्।

पार्टीका केन्द्रीय सदस्य भट्टराईका अनुसार सम्पर्क व्यक्ति तोकिएसँगै चितवन जिल्लामा पार्टी गतिविधि आवश्यकतानुसार सक्रिय बनाइने छ। यही मङ्सिर १७ गते काठमाडौंमा हुने पार्टी घोषणा कार्यक्रममा चितवनबाट व्यापक उपस्थितिको लक्ष्य राखेर भेला आयोजना गरिएको उनले बताए।
पार्टीको घोषणा कार्यक्रमपछि जिल्ला कमिटी निर्माण गर्ने योजना समेत रहेको भट्टराईले जानकारी दिए। उनका अनुसार सम्पर्क व्यक्तिहरूले जिल्लाका सदस्यहरूलाई सक्रिय बनाउने र आवश्यक स्थानमा परिचालन गर्ने जिम्मेवारी पाउने छन्।
चितवन भेलाको लागि केन्द्रीय सदस्य सञ्जीव भट्टराईसँगै पार्टीका केन्द्रीय सदस्यहरू इन्जिनियर डा शंकर ढकाल, डा आशुतोष विजय पन्तलगायतका नेताहरु चितवन आएका थिए।
उज्यालो पार्टी नेपालले हाल आफ्नो पंक्तिलाई निर्वाचन केन्द्रित संगठन निर्माण र प्रचार–प्रसार कार्यमा सक्रिय रूपमा लाग्न निर्देशन दिएको छ।