Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गण्डकी प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

गण्डकी प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

इच्छाकामना न्युज

३०, कार्तिक २०८२
गण्डकी प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

गण्डकी । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।

images

प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ ।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उहाँको भनाइ छ ।
जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताए । “आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ”, उनले भने, “किटानी जोहरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।”

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका छन् । एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - ११:१८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology