Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वसैनिक कृपाश्वर घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

पूर्वसैनिक कृपाश्वर घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

इच्छाकामना न्युज

२०, कार्तिक २०८२
पूर्वसैनिक  कृपाश्वर घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
images

धरान (सुनसरी) ।  करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका-७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ ।

images
images

उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको दाबी गर्नुभयो । 

 घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहनुभएको छ । गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । 

सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उहाँले जानकारी दिनुभयो ।

व्यवसायी गुरुङले भन्नुभयो,“फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ ।”

उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिक रूपमा रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताउनुभयो । 

पहिले प्रतिबोट रु २०० देखि रु ४०० सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार रु ५० देखि रु ७० मा बिक्री हुने गरेको उहाँको भनाइ छ । ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो रु ४०० र होलसेलमा रु ३५० मा बिक्री हुने गरेको छ । 

फार्ममा मासिक रु १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक सात सय ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । 

फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ । गुरुङले भन्नुभयो,“ फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतवापत वार्षिक करिब रु आठ लाख खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिकटन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।”

आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ ।

 हाल सुनसरीको रामधुनी नगरपालिका-७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् । 

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - ०८:५४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology