विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिले व्यक्तिका राजनीतिक विचारमाथि दमन गर्ने र दबाबका लागि आगजनी गर्ने काम प्रति गम्भीर आपत्ति जनाएको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार थापाले विज्ञप्ति निकाल्दै युवाहरूको स्वच्छ उद्देश्यको आन्दोलनमा भएको अनेक थरी शक्तिको घुसपैठलाई पनि नजर अन्दाज गर्न नमिल्ने जनाएका छन् ।
भनिएको छ, लोकतन्त्रमा विरोध र प्रदर्शन गर्न पाउने अधिकारको उपयोग गर्दै जेन-जी पुस्ताले गरेको आन्दोलन नागरिक हकको सही उपयोग थियो र हो । राजकीय व्यवस्थापनमा भएका कमजोरी सुधार गर्न खबरदारी गर्न साथै लोकतन्त्रलाई उन्नत बनाउन यस्ता अभियान आवश्यक र अपरिहार्य हुन्छन् ।
एमाले कोशीले आन्दोलनमा अनावश्यक दमन हुनु गलत भएको र राज्य संयन्त्रलाई समेत अवाक बनाउने दमन कसरी हुन पुग्यो भन्दै घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ । एमाले कोशीले आन्दोलनमा दुःखद मृत्यु भएका युवा र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
एमाले कोशीले यस आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
एमाले कोशीले यो विषम परिस्थितिमा अविचलित रहन पार्टीका सम्पूर्ण नेता-कार्यकर्ताहरूसाथै सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई आग्रह गरेको छ ।