Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?

अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?

इच्छाकामना न्युज

२६, भाद्र २०८२
अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?
images

काठमाडौं । जेनजी प्रदर्शनका कारण अस्पतालमा बिरामीको चाप बढेसँगै स्वास्थ्य सेवा प्रवाह प्रभावित बन्न पुगेको छ। काठमाडौँका प्रमुख अस्पतालहरूले स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी गराएर वा छुट्टीमा रहेका स्वास्थ्यकर्मीहरूलाई समेत बोलाएर स्वास्थ्य सेवा दिइरहेका छन्।  

images
images

राष्ट्रिय ट्रमा सेन्टरमा हालसम्म जेनजी प्रदर्शनका १६१ घाइतेहरूले उपचार सेवा लिएको राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री रिजालले बताए।

जसमध्ये ३१ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको तथा ५८ जना अझै उपचारका क्रममा रहेको उनी बताउँछन्। हाल आइसियुमा ८ जनाको उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर रहेको छ।

‘डबल ड्युटीमा खटेर स्वास्थ्यकर्मीले काम गरिरहनुभएको छ, कर्फ्युका कारण यातायात असहज हुनाले ड्युटी परिवर्तन गर्न समेत असहज भएको छ,’ डाक्टर रिजालले भने, ‘ कामको अत्याधिक चापका कारण कर्मीहरू आफै बिरामी हुने अवस्थामा पुगिसक्नुभएको छ।’  

हालसम्म अस्पतालमा औषधि खानेकुरा लगायत अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिएको उनले बताए। चोटपटकका कारण वार्डमा भर्ना भएर बसेका बिरामीहरूको शल्यक्रिया लगायत नियमित सेवा समेत आजबाट खोल्न लागिएको उनले जानकारी दिए। राष्ट्रिय ट्रमा सेन्टरमा हालसम्म जेनजी प्रदर्शनका आठ जना घाइतेहरूको मृत्यु भइसकेको छ।

बानेश्वरस्थित सिभिल अस्पतालले प्रदर्शनका घाइतेहरूका कारण  बिरामीको चाप अत्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ ।

स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी तथा छुट्टीमा भएकाहरूलाई पनि फिर्ता बोलाएर हाल अस्पतालले सेवा दिइरहेको अस्पतालका निर्देशक डाक्टर मोहनचन्द्र रेग्मीले बताए।

अहिलेसम्म स्टक रहेका सामग्रीहरूबाट सेवा दिँदै आएकोमा आगामी दिनमा आपूर्ति सहज नभए त्यसले सेवा प्रवाहमा समस्या ल्याउन सक्ने डाक्टर रेग्मी बताउँछन्।

‘जनशक्ति व्यवस्थापन कठिन भएको छ, चिकित्सक तथा नर्सहरु डबल ड्युटी गरेर भए पनि खटिनुभएको छ,  हाललाई ओपिडी र ओटी सेवा बन्द गरिएको छ,’ उनले भने, ‘हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ।’

अस्पतालले भोलिदेखि नियमित सेवासमेत प्रदान गर्नेगरी योजना बनाइरहेको डाक्टर रेग्मी बताउँछन्।

हालसम्म सिभिल अस्पतालले ४०० भन्दा बढी घाइतेहरूलाई उपचार सेवा दिइसकेको छ। ४३ घाइतेहरु अस्पतालमा उपचाररत छन् भने ४५ जनाको शल्यक्रिया अस्पतालले गरिसकेको छ।हालसम्म सिभिल अस्पतालमा  ६ जनाको मृत्यु भएको छ ।

वीर अस्पतालका निर्देशक डा दिलिप शर्मा सँगै ट्रमा सेन्टर भएकोले वीर अस्पतालमा प्रदर्शनका घाइते उपचारका लागि कम आएको बताउँछन्। यद्यपि अस्पताल आइपुगेका केही घाइतेहरूको विभिन्न वार्डमा उपचार भइरहेको उनले जानकारी दिए।

अस्पतालमा नियमित तथा ओपिडी सेवा सञ्चालनमा रहे पनि कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आइपुगेको उनी बताउँछन्।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १०:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology