Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ओलीको नजरमा कस्ता छन् कांग्रेस, माओवादी, राप्रपा र रास्वपा ?

ओलीको नजरमा कस्ता छन् कांग्रेस, माओवादी, राप्रपा र रास्वपा ?

इच्छाकामना न्युज

२०, भाद्र २०८२
ओलीको नजरमा कस्ता छन् कांग्रेस, माओवादी, राप्रपा र रास्वपा ?
images

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य राजनीतिक पार्टीहरू को कस्ता छन् भन्नेबारे आफ्नो दृष्टिकोण दस्तावेजमा उल्लेख गरेका छन् ।

images
images

आजबाट सुरु एमालेको दोस्रो विधान महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसवादी र नयाँ शक्ति भनिएका रास्वपाबारे  विश्लेषण गरेका हुन् ।

९८ पेज लामो ओलीले राजनीतिक प्रतिवेदनमा सत्ता सहयात्री कांग्रेसबारे छोटो टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसलाई लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्तिका रूपमा चित्रण गर्दै पुरानो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेपनि संसारमा असफल भएको नवउदारवादी नीतिले नेपालमा अगुवाइ गर्न नसक्ने उल्लेख गरेका छन् । 

ओलीले आफ्नो दस्तावेजमा समाजवादको आधार निर्माणको अभिभारा एमालेबाहेक अरू कुनैपनि दलले पूरा गर्न नसक्ने दाबी पनि गरेका छन् । ‘समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरू कुनै पार्टी या शक्तिबाट पूरा हुनु सम्भव छैन’, ओलीले भनेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रलाई माओवादी ट्याग नै भारी भएको टिप्पणी गरेका छन् । ‘कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एन्टिथेसिस’ का रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिस्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो  ‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि ‘माओवादी’ ट्याग पनि भारी भएको छ,’ प्रतिवेदनमा ओलीले भनेका छन् ।

उनले माओवादीलाई अस्थिरता, अवसरवाद एवं विभाजनकारी भनेका छन् । ‘अस्थिरता, अवसरवाद, एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, सांगठानिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ’, ओलीको टिप्पणी छ । उनले मधेस केन्द्रित दलहरूलाई सङ्कीर्ण, यथास्थितिवादी, एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकेका शक्तिका रूपमा चित्रण गर्दै उनीहरूले राष्ट्रको नेतृत्व गर्न नसक्ने जनाएका छन् । 

त्यस्तै राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपनामा लागेको भन्दै कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको बताएका छन् ।

‘पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने,प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका क्रममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ । यो स्वीकार्य हुँदैन’, ओलीको भनाइ छ ।  

त्यस्तै ओलीले रास्वपा लगायतको नाम किटान नगरे पनि समाजमा उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू उदाएको बताएका छन् । ती दल र व्यक्तिहरूलाई अ‍ोलीले ‘पपुलिष्ट’को संज्ञा दिएका छन् । ओलीले पपुलिष्ट भनेर गरेको संकेत रास्वपा, बालेन, हर्कहरूतर्फ लक्षित रहेको छ । 

अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने संकल्पका साथ अगाडि बढिरहेको भन्दै नेपालमा संगठित राजनीतिक गतिविधि सुरु भएदेखि नै राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति गरी दुई थरी धारका विचारमा निरन्तर प्रतिस्पर्धा रहेको बताएका छन् । ‘एकातिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय शक्तिलाई बलियो बनाउने धार र अर्को यसलाई कमजोर गर्दै मुलुकमा बाह्य हस्तक्षेप, आत्मसमर्पण र अस्थिरतालाई बढवा दिने धार’, ओलीले दुई धारबारे चर्चा गरेका छन् ।  उनको राजनीतिक प्रतिवेदनमाथि विधान महाधिवेशनमा छलफल हुँदैछ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - १३:२८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology