चितवन, असार ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य विमाको प्रथम सेवा बिन्दु यथावत् राख्ने निर्णय गर्नुभएको छ। नारायणी अनलाइनसँगको कुराकानीमा उहाँले विमित नागरिकलाई परेको असहजतालाई मध्यनजर गर्दै सेवा बिन्दु हटाउने अघिल्लो निर्णय परिमार्जन गरिएको बताउनुभयो।
भरतपुर अस्पतालमा देशका विभिन्न स्थानबाट बिरामीहरू आउने भएकाले यसलाई केन्द्रिय अस्पतालका रूपमा प्राथमिकतामा राखिएको मन्त्री पौडेलले स्पष्ट पार्नुभयो। उहाँले सामाजिक सञ्जालमार्फत पनि भरतपुरसहितका केन्द्रीय सरकारी अस्पतालहरूमा सेवा बिन्दु कायमै राखिने जानकारी दिनुभएको थियो।
मन्त्री पौडेलका अनुसार, स्वास्थ्य विमा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक वटा प्रथम सेवा बिन्दु स्थापना गर्ने नीति लिएको छ। उपयुक्त स्वास्थ्य संस्था नभएका ठाउँहरूमा नयाँ संस्था स्थापना गर्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरिएको छ।
उहाँले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै नागरिकलाई घरदैलोमै स्वास्थ्य विमा सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।