Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

इच्छाकामना न्युज

१८, आषाढ २०८२
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने
images

चितवन,  असार १८ गते ।  चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिनेभएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो । 

images
images

परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो । 

अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । “नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।”

परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताउनुभयो । 

“हामीले बाजा बजाउन, सिलाउन अन्य समुदायलाई सिकायौँ । तर हाम्रा छोराछोरी नातिनातिनाले सिकेनन्”, उहाँले भन्नुभयो, “अब संरक्षण गरिएन भने केही वर्षमा हाम्रो पेसाको इतिहाससमेत मेटिन सक्छ ।” उहाँले संस्कृति लोप हुन लागेकाले संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको बताउनुभयो । 

सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरुको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने उहाँले जानकारी दिनुभयो । 

विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभसाइतका लागि बाजा बजाउने प्रचलन थियो । सङ्ग्रहालयले परियार समुदायको जातिय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पु¥याउने विश्वास लिइएको छ । 

तीन वर्षमा निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको सङ्ग्रहालय निर्माणका लागि रु दुई करोडमध्ये हालसम्म भरतपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको छ भने बाँकी रकम जुटाउने क्रममा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले बताउनुभयो । 

“भरतपुर महानगरपालिका, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौँ”, डिल्लीबहादुरले भन्नुभयो, “सबैको सहयोग भएमा परियार समाजको संस्कृतिलाई अध्ययन केन्द्रको रुपमा विकास गर्दैछौँ ।” नेपालमा परियार समुदायको जनसङ्ख्या छ लाखको हाराहारीमा छ । रासस

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ०९:२७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology