Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्यार्थी अभावमा रित्तिँदै विद्यालय

विद्यार्थी अभावमा रित्तिँदै विद्यालय

इच्छाकामना न्युज

८, आषाढ २०८२
विद्यार्थी अभावमा रित्तिँदै विद्यालय
images

तनहुँ, असार ८  गते । गाउँले जीवनभन्दा सहरबजार मोह र युवाको विदेश पलायनले गाउँका विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि तनहुँको व्यास नगरपालिकामा दुई माध्यमिक विद्यालय बन्द भएका छन् भने चार विद्यालयको तह घटाइएको छ । ती विद्यालयको चालु शैक्षिक सत्रमा बन्द तथा तह घटेका हुन् । 

images
images

नगरपालिकाको वडा नं. ७ स्थित क्यामिनकोट माध्यमिक विद्यालय र वडा नं. ९ स्थित बसाहस्थान माध्यमिक बन्द भएको व्यास नगरपालिका सूचना अधिकारी तथा शिक्षा शाखाका प्रमुख केदारराज आचार्यले बताउनुभयो । चालु शैक्षिक सत्रमा एक जना विद्यार्थी पनि भर्ना गर्न नआएकाले बन्द गर्नु परेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीलाई प्रमाणपत्र लिन तथा भौतिक पूर्वाधारको संरक्षणका लागि हाल एक मात्रै शिक्षक राखिएको आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, “भर्नाको समयमा शिक्षक आन्दोलन भएकाले पनि यस पटक अभिभावक भर्ना गर्न आएनन्, विद्यार्थी नभएकाले विद्यालय बन्द गरेका हौँ ।” 

एसइई दिएका विद्यार्थीले विद्यालयबाट प्रमाणपत्र लिनुपर्ने भएकाले एक जना शिक्षक राखिएको र अन्य शिक्षकलाई आवश्यकता अनुसार अन्य विद्यालयमा पठाइएको उहाँले बताउनुभयो । गत वर्ष २२ जना विद्यार्थी क्यामिनकोट विद्यालयमा रहेको उहाँले जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “स्थानीय तथा सरोकारवाला सामुदायिक विद्यालय सुधार गर्नु पर्छ भन्ने चिन्ता मात्रै व्यक्त गर्छन् तर व्यवहारमा काम गर्दैनन् । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् ।” शैक्षिकस्तर सुधार गर्न शिक्षकका सन्ततिलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन गरिएको आचार्यले जानकारी दिनुभयो । यस्तो निर्देशन दिइएको भए पनि कतिपयले लुकीछिपी निजी विद्यालयम भर्ना गरेको पाइएकाले अनुगमन भइरहेको आचार्य बताउनुहुन्छ । सूचना अधिकारी आचार्यका अनुसार वडा नं. ५ स्थित शुक्र माध्यमिक विद्यालय तह घटुवा गरेर आधारभूत बनाइएको छ । सोही वडाको चुँदेरस्थित पदम प्राथमिक विद्यालयमा चार जना मात्रै विद्यार्थी भएकाले बन्द हुने स्थितिमा पुगेको छ । त्यसै गरी व्यास नगरपालिका–१३ स्थित गुँदीफच्याङ आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइ हुँदै आएकोमा तह घटाएर ५ कक्षासम्म मात्रै कायम गरिएको छ । वडा नम्बर ११ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको घटाएर कक्षा ८ सम्म कायम गरिएको छ । निजी विद्यालयका बस गाउँसम्म आउने र बसाइँसराइले गर्दा गाउँ रित्तिँदै गएकाले विद्यार्थीको अभाव हुँदा कक्षा १० बाट घटाएर कक्षा ८ सम्म मात्रै कायम गरिएको अमरसिंह माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सञ्जय श्रेष्ठ बताउनुहुन्छ ।

शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठ गाउँमा सडक, बत्ती, खानेपानी, स्वास्थ्यचौकी, बिजुलीलगायतका विकासका पूर्वाधार पुगे पनि रोजगारीका अवसर नभएकाले बसाइँसराइ गर्ने प्रवृत्ति बढ्दै गएकाले गाउँ रित्तिँदै गएको र गाउँका विद्यालयमा विद्यार्थी घटेको उहाँ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, “गाउँका सामुदायिक विद्यालयमा सुविधासम्पन्न भवन छन् तर रोजगारी नहुँदा 

बसाइँसराइले गाउँ रित्तिएकाले विद्यालय बन्द हुने क्रम बढेको छ ।” गाउँमै आम्दानी र रोजगारीको व्यवस्था मिलाउने हो भने बसाइँसराइ घट्ने हुँदा विद्यार्थी सङ्ख्या बढाउन सकिने उहाँ बताउनुहुन्छ । गाउँमा बस्नेलाई सहुलियतमा ऋणको व्यवस्था गराएर उद्यमशीलतामा प्रेरित गर्ने र लागत मूल्य अनुसारको बजार व्यवस्थापन सरकारले गर्ने हो भने गाउँलाई गुलजार बनाउन सकिने एकाइ प्रमुख श्रेष्ठको भनाइ छ ।   

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १०:२८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology