देवघाट । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले देवघाट गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयमा आयोजना गरेको वाक्कला प्रशिक्षण सकिएको छ ।
देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा देवघाट गाउँपालिकाको वडा नं–२ स्थित आदर्श शिक्षा माध्यमिक विद्यालय खाल्टे र कालीगंगा माध्यमिक विद्यालय बैदी तथा वडा नं–३ स्थित बालकेश माध्यमिक विद्यालय छिपछिपेमा उक्त कक्षा सञ्चालन गरिएको थियो ।
देवघाट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि उक्त कक्षा सञ्चालन गरेको हो । प्रशिक्षणमार्फत ग्रामीण क्षेत्रका विद्यार्थीको बोल्ने कलामा विकास गराउन सक्ने लक्ष्य लिइएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।
गाउँपालिकाले शैक्षिक क्षेत्रमार्फत समाज रुपान्तरण गराउनका लागि जगदेखि नै अभ्यासको थालनी गरेको उनको दाबी छ । स्थानीय सरकारले ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयलक्षित कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउने अभियानको थालनी गरेको भन्दै आदर्श शिक्षा माध्यमिक विद्यालय खाल्टेका प्रधानाध्यापक देउराम सारुले यस्ता कार्यक्रमलाई गाउँपालिकाले वार्षिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताए ।
बजारमा जस्तो सुविधा नहुने हुँदा स्थानीय सरकारबाटै विद्यार्थीको बोलीमा परिवर्तन ल्याउन आवश्यक रहेको उनले बताए । बैदीस्थित कालीगंगा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बाचेमगरले स्थानीय सरकारले पहिलोपटक कार्यक्रम ल्याएर विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको मनोबल बढाउने काम गरेको बताए । यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ ।
सोही विद्यालयका प्रधानाध्यापक बमबहादुर आलेमगरले बालबालिकालाई नियमित गतिविधिभन्दा फरक कार्यक्रममार्फत थप शैक्षिक जागरण भर्ने काम गरेर विद्यालयलाई गुन लगाएको बताए । ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आत्मबल बढाउने गरी नयाँ कार्यक्रममार्फत बोलीको विकास गर्नमा गाउँपालिकाले योगदान दिएको भन्दै आगामी दिनमा पनि स्रोत व्यवस्थापन गरेर यो कार्यक्रमलाई नियमित गराउन सुझाव दिए ।
एक हप्तासम्म प्रशिक्षण लिएपछि आदर्श शिक्षाका सुवास आलेमगर, सुमित्रा परियार र थगीसरा सारूमगरले अनुभव सुनाएका थिए । कालीगंगा माध्यमिक विद्यालयमा एहेसान रेजा, लेखमाया राना, दिव्या ठकुरी, मदन सारु र यममाया खाँडले अनुभव सुनाएका थिए । यस्तै बालकेश माध्यमिक विद्यालयमा भने जनक सारु, कल्पना गुरूङ, पूजा गुरूङ, ईश्वर थापा र विनोद थापाले अनुभव सुनाएका थिए । विद्यार्थीहरुले अनुभव सुनाउँदै गर्दा विद्यालयले सञ्चालन गर्दै आएको भन्दा फरक खालको र विद्यार्थीका लागि आवश्यक कार्यक्रम भएको हुँदा स्थानीय सरकारले हरेक वर्ष पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा लागू गराउनसमेत आग्रह गरेका छन् ।
तीनवटा विद्यालयका १२० जना विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षार्थी सबैलाई आयोजकको तर्फबाट सिकाइको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । कालीगण्डकीको किनारमा रहेको आदर्श शिक्षा र छिपछिपेमा रहेको बालकेश माविबीचको दूरी १२ किलोमिटर छ । कालीगंगा भने यी दुई विद्यालयको बीचमा पर्छ ।
भौगोलिक कठिनाइका कारण पायक पर्ने तीन विद्यालयमा एकसाथ तालिम सञ्चालन गरेको देवघाट आयोजक संस्था इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले जनाएको छ ।